१४ वर्षीय बालकले गरे आत्महत्या, ट्युसन जान नपाउँदा गरेको अनुमान
रौतहट, ०१ असार
रौतहट जिल्लाको राजदेवी नपा वडा नं ९ ब्रहम्पुरी टोलमा बस्ने १४ वर्षीय बालकले आत्महत्या गरेका छन्। स्थानीय संजय दासका छोरा सोहिल दासले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन्।
परिवारका अनुसार बिहान करिब ७ बजे ट्युसन जान तयारी गरिरहेका सोहिलले आमासँग साइकल किनिदिन आग्रह गरेका थिए। आमाले तत्काल पैसा नभएको भन्दै पछि किनिदिने बताएपछि उनी रिसाएका थिए। त्यसपछि ट्युसन जानु त परै जाओस्, घरमा कोही नभएको मौका छोपी करिब ८:३० बजेको समयमा उनले फाँसी लगाएर आत्महत्या गरेका थिए।
आमा घर फर्किएपछि घटनाबारे जानकारी भएको र तत्काल स्थानीयको सहयोगमा उनलाई फाँसीबाट झारेर प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, अस्पतालमा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शवलाई पोस्टमार्टमका लागि लगिएको थियो र बेलुका करिब ५:३० बजे एम्बुलेन्समार्फत घर ल्याइएको परिवारले जनाएको छ।
