मौलापुरमा फेरि अर्को सराहनीय कार्य: सोनरनियामा एकीकृत दलित बस्ती निर्माण सुरु

0

चैत १८ गते राम प्रवेश बैठा
रौतहटको मौलापुर नगरपालिका ले फेरि अर्को प्रशंसनीय सामाजिक कार्य अघि बढाएको छ। नगरपालिकाले सोनरनिया गाउँमा एकीकृत दलित बस्ती निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको जनाएको छ।
झण्डै ७ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना करिब ४ करोड ३७ लाख रुपैयाँको सम्झौतामा निर्माण कार्य सुरु गरिएको हो। नगरपालिकाका अनुसार यो आयोजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नगर प्रमुख रीना कुमारी साह तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह ले संयुक्त रूपमा जानकारी दिँदै सोनरनियामा निर्माण हुने यस बस्तीबाट करिब ३० देखि ४० दलित परिवार प्रत्यक्ष लाभान्वित हुने बताएका छन्।
यसअघि मर्यादपुर र मौलापुर क्षेत्रमा पनि एकीकृत बस्ती निर्माण गरिसकेको नगरपालिकाले दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यसहित नयाँ बस्ती निर्माणलाई निरन्तरता दिएको हो।
नगर प्रमुख साहले समावेशी विकासलाई प्राथमिकतामा राख्दै सोनरनियामा पनि एकीकृत दलित बस्ती निर्माण गर्ने आफ्नो प्रतिबद्धता पूरा गरेको भन्दै स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन्।
यस आयोजनाले दलित समुदायका लागि सुरक्षित आवास, आधारभूत सुविधा तथा सम्मानजनक जीवनयापनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *