रौतहटको कटहरीया नगरपालिकाको पिकअप गाडी घेराउ, कार्यालयमा उपमेयर र वडा अध्यक्षहरूले एक महिनादेखि ताला लगाएका
दिपेश कुमार शाह , रौतहट माँघ १०
माघ ०९ गते ।रौतहटको कटहरीया नगरपालिकाको आर्थिक विवादले गम्भीर मोड लिएको छ। नगरपालिकाले खरीद गरेको प्रदेश नं. २०३००१ छ ००२९ नम्बरको पिकअप गाडी फोटन शोरुममा दुई महिनादेखि घेराउमा छ, भने आर्थिक अनियमितता र पारदर्शिताको अभावका कारण उपमेयर रिता देवी यादव र विभिन्न वडाका अध्यक्षहरूले नगरपालिकाको कार्यालयमा एक महिनादेखि ताला लगाएका छन्।
गाडी मर्मतका लागि पठाएपछि फोटन शोरुमले बक्यौता रहेको १,५०,००० रुपैयाँ नपाउँदा गाडी रोकिएको हो। नगरपालिकाले समयमै भुक्तानी नगर्दा समस्या झन् जटिल बनेको छ।
उपमेयर रिता देवी यादवले नगरपालिकाको आर्थिक व्यवस्थापनमा लापरवाही भएको बताउँदै भनिन्, “विगतदेखि नै आर्थिक पारदर्शिताको अभाव छ। गाडीको बक्यौता भुक्तानी नगर्दा नगरपालिकाको इज्जत गिरेको छ। हाम्रो माग सम्बोधन नभएसम्म ताला नखोल्ने निर्णय गरेका छौं।”
वडा अध्यक्षहरूले लेखा शाखा र नगर प्रमुख अजय प्रकाश जैसवाललाई आर्थिक लापरवाहीको जिम्मेवार ठहर गरेका छन्। उनीहरूको भनाइमा, “नगरपालिकाको बजेट दुरुपयोग भई विकासका कामहरू ठप्प भएका छन्। यो गम्भीर मुद्दा हो, र ताला लगाउनु बाध्यता हो।”
नगर प्रमुख जैसवालले भने समस्या समाधानका लागि छलफल गरिरहेको र चाँडै समाधान निकालिने दाबी गरेका छन्। तर, उपमेयर र वडा अध्यक्षहरूले समस्या समाधान नभएसम्म ताला नखोल्ने अडान लिएका छन्।
ताला लगाइएका कारण नगरपालिकाका दैनिक कामकाज ठप्प भएका छन्। स्थानीय जनताले यसले नागरिक सेवामा अवरोध पुर्याएको भन्दै समस्या छिटो समाधान गर्न आग्रह गरेका छन्।
यो विवादले कटहरीया नगरपालिकाभित्रको आन्तरिक राजनीतिक र प्रशासनिक असन्तुलनलाई झल्काएको छ।
