कर्कचमा राम यज्ञको लागि हजारौंको संख्यामा कलश यात्रा सम्पन्न
- रौतहट,१०-०९
कर्कचमा राम यज्ञको लागि हजारौंको संख्यामा कलश यात्रा सम्पन्
रौतहट: रौतहटको कर्कचमा राम धुन यज्ञको लागि हजारौं भक्तजनहरुको सहभागितामा कलश यात्रा सम्पन्न भएको छ। बुधबार बिहान राम जानकी ठाकुर बाबा गुठी मठबाट सुरु भएको कलश यात्रा स्थानीय लाल बकैय नदीसम्म पुगेको थियो। विशेष गरी कुमारी कन्याहरुले कलश यात्रामा भाग लिएका थिए।
कलश यात्रासँगै यज्ञको औपचारिक सुरुआत गरिएको छ। यज्ञ सुरु भएलगत्तै “एक घर, एक दिप” अभियान सञ्चालन गर्दै यस वर्षको दोस्रो दिपावली मनाइएको पुजा समितिका अध्यक्ष राजकुमार साहले बताएका छन् ।
उनका अनुसार, स्थानीय बासिन्दाको सहकार्य र योगदानमा यस वर्ष पनि राम धुन यज्ञको आयोजना गरिएको हो। गत वर्षजस्तै यस वर्ष पनि राम-सीता विवाह, कलश यात्रा, र विविध सांस्कृतिक कार्यक्रमसहित यज्ञको आयोजना गरिएको छ।
यज्ञको प्रमुख पूजा मुक्तिनारायण साह र उनकी श्रीमतीले गरिरहेका छन्। समितिका अध्यक्ष साहले बताएअनुसार, यज्ञले धार्मिक तथा सांस्कृतिक एकताको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
यज्ञले क्षेत्रीय धार्मिक पर्यटन प्रवर्द्धन गर्नका साथै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्य लिएको छ।

