निजगढ–तिलगङ्गा सामुदायिक आँखा अस्पताल र राजपुर नगरपालिकाको सहकार्यमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

0

पुस १३ राम प्रवेश बैठा
राजपुर, रौतहट — निजगढ–तिलगङ्गा सामुदायिक आँखा अस्पताल र राजपुर नगरपालिकाको सहकार्यमा आज निःशुल्क आँखाको मोतियाबिन्दु (क्याटार्याक्ट) शल्यक्रिया हुने बिरामीहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको स्वास्थ्य अवस्था, समस्या र अपेक्षाबारे जानकारी लिइएको थियो। सोही अवसरमा तिलगङ्गा आँखा अस्पताल, काठमाडौंकी वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रिता गुरुङसँग भेट गरी निःशुल्क आँखाको उपचार सेवा विस्तार, मोतियाबिन्दु शल्यक्रिया तथा दीर्घकालीन सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलमा राजपुर नगरपालिकाका नगर प्रमुख राजिक आलमको विशेष सहयोग तथा पहलमा तिलगङ्गा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै नगरवासीलाई गुणस्तरीय र निःशुल्क आँखाको उपचार सेवा उपलब्ध गराउने विषयमा सहमति जनाइएको छ। नगरपालिकाले आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा दृष्टि समस्या भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै यस्तो सेवा निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
डा. गुरुङले तिलगङ्गा आँखा प्रतिष्ठानको तर्फबाट आवश्यक प्राविधिक सहयोग, दक्ष चिकित्सक तथा आधुनिक उपकरणमार्फत सुरक्षित र प्रभावकारी शल्यक्रिया गरिने जानकारी दिँदै स्थानीय तहसँगको सहकार्यले ग्रामीण क्षेत्रमा आँखाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।
स्थानीयवासीहरूले निःशुल्क मोतियाबिन्दु शल्यक्रिया जस्तो जीवन उपयोगी सेवाका लागि राजपुर नगरपालिका, नगर प्रमुख राजिक आलम तथा तिलगङ्गा आँखा प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *