मधानी महोत्सव २०८२ को तयारी तीव्र, मौलापुरमा बृहत छलफल सम्पन्न
पुस ११ गते राम प्रवेश बैठा
रौतहटको मौलापुर नगरपालिकामा बहुप्रतिक्षित तथा बहुप्रतिष्ठित मधानी महोत्सव २०८२ को तयारीका सन्दर्भमा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ। आदरणीय नगरप्रमुख रिनाकुमारी साहज्यूको अध्यक्षतामा सम्पन्न बैठकले महोत्सवलाई सभ्य, भव्य र हर्षोल्लासपूर्ण रूपमा आयोजना गर्ने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले नगरप्रमुख रिनाकुमारी साहज्यूको अध्यक्षतामा १०१ सदस्यीय ‘मधानी महोत्सव मूल समारोह समिति २०८२’ गठन गर्ने निर्णय गरेको छ। उक्त समितिमा मौलापुर नगरपालिकाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न उपसमितिका संयोजकहरू तथा नगरपालिकाका शाखा प्रमुखहरू सदस्यको रूपमा रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, बैठकले २०८२ साल फाल्गुन २, ३ र ४ गते तीन दिनसम्म मधानी महोत्सव आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रमअनुसार फाल्गुन २ गते शिव बरात यात्रा, फाल्गुन ३ गते मधानी महोत्सव विशेष समारोह तथा फाल्गुन ४ गते दङ्गल (कुस्ती) प्रतियोगिता सञ्चालन गरिनेछ।
महोत्सव अवधिभर कावडियाहरूद्वारा जल रीसाल, ख्यातिप्राप्त पुजारीद्वारा महादेव बाबाको विशेष पूजा–अनुष्ठान, शिवभक्तद्वारा विशेष आरती तथा शिव विवाह उत्सव समेत मनाइने निर्णय गरिएको छ।
महोत्सव आयोजना गर्न आवश्यक पर्ने जग्गा उपलब्ध गराउने विषयमा पतौरा ग्रामवासीहरूले नगरपालिकाको समन्वयमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, मधानी महोत्सव २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने मधानी महोत्सवले स्थानीय संस्कृति प्रवर्द्धन गर्नुका साथै क्षेत्रको पहिचान थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
अन्त्यमा बैठकले महोत्सव सफलताको कामना गर्दै
“महादेव बाबाले हामी सबैको कल्याण गरून् ।
ॐ नमः पार्वती पतये हर हर महादेव !!”
भन्ने शुभकामना व्यक्त गरेको छ।
