देवाही गोनाहीमा कृष्णजन्माष्टमी मेला उद्घाटनलाई लिएर दुई पक्षबीच झडप, नगरप्रमुखसहित ५ जना घाइते

0

रौतहट, साउन ३१ गते

राम प्रबेश बैठा

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा आज दिउँसो २:४० बजे कृष्णजन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुखसहित ५ जना घाइते भएका छन्।

मेलाको उद्घाटन नगरप्रमुख प्रेमलाल साह कानुबाट गराउने विषयमा एक पक्ष जोड दिइरहेका बेला अर्को पक्षले नगरप्रमुखबाट उद्घाटन नगराई मेला संचालन गर्नुपर्ने अडान राखेपछि विवाद चर्किएको थियो। विवादले झडपको रूप लिएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गर्दा प्रहरीसहित नगरप्रमुखसमेत घाइते भएका हुन्।

घाइतेहरूको विवरण यस्तो छ:

  1. प्रहरी जवान जगदिश राय यादव – टाउको, मुख र दाहिने हातमा चोट। गालामा ५ वटा टाका लगाइएको छ। अवस्था मध्यम।
  2. प्रहरी जवान धनसुन्दर ठाकुर – टाउको, कुहिना र कन्चटमा चोट। टाउकोमा ४ वटा टाका लगाइएको छ। अवस्था मध्यम।
  3. नगरप्रमुख प्रेमलाल साह कानु – टाउकोमा गम्भीर चोट लागेको छ। टाउकोमा १७ वटा टाका लगाइएको छ। अवस्था बढी मध्यम।
  4. रामबिकाश साह (३०) – दाहिने हातमा सामान्य चोट।
  5. श्याम विनय साह (२४) – सामान्य अवस्था।

घाइते सबैको गरुडा स्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति:

  1. राधामोहन साह (३५/४०) – धरहरी टोल, देवाही गोनाही।
  2. बिनोद साह (३५/४०) – ठेगाना धरहरी निवासी
  3. रितिक साह (२१/२२) – ठेगाना धरहरी निवासी

इलाका प्रहरी कार्यालय गरुडाले ती तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। हाल घटनास्थलको अवस्था सामान्य रहेको र स्थिति नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान जारी

प्रहरीका अनुसार झडपको कारण, घटनामा संलग्न अन्य पक्ष र योजनाबद्धता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *