फतुवा बिजयपुर–२ का वडा अध्यक्ष यादवद्वारा आवश्यकताको आधारमा योजना छनोट गर्न जोड

0

साउन २८ गते
राम प्रबेश बैठा
रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ का वडा अध्यक्ष अनिरुद्व यादव (संजय) ले वडा विकासका योजना छनोट गर्दा आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। बुधबार सम्पन्न वडा स्तरीय सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष यादवले व्यक्तिगतरूपमा योजना माग गर्दा कार्यान्वयन प्रभावकारी नहुने अवस्था देखिएको बताउँदै सामूहिक छलफलबाट सर्वसुलभ र दीर्घकालीन लाभ हुने योजना छनोट गर्नुपर्ने धारणा राखे।

बैठकमा निर्वाचित जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो। सहभागीहरूसँगको छलफलमा अध्यक्ष यादवले वडा भित्र सम्पन्न भइसकेका योजना संरक्षित गर्दै त्यसको दिगो सदुपयोगमा समेत ध्यान दिनुपर्ने औँल्याए।

“अबका योजना पोल तार, बाटो, ढलान, नाला निर्माण लगायतका अत्यावश्यक आवश्यकता अनुसार छनोट गरिनेछ,” अध्यक्ष यादवले भने, “साझा मञ्चबाट आएको राय र सुझावको आधारमा योजना छनोट गर्दा स्थानीय जनतालाई बढी लाभ हुने विश्वास लिएको छु।”

वडामा विकास योजना छनोट गर्दा पारदर्शिता, सहभागिता र समावेशिताको अभ्यासलाई निरन्तरता दिइने उनले स्पष्ट पारे। बैठकमा सहभागी अन्य वक्ताहरूले पनि योजनाको गुणस्तरीयता र प्रभावकारितामा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *