सीमामा सशस्त्र प्रहरीको कडाई, पाँच लाखभन्दा बढी रकमसहित दुई जना नियन्त्रणमा

0

बैशाख ४ गते राम प्रवेश बैठा
रौतहट — सशस्त्र प्रहरी बल, नेपालले सीमाक्षेत्रमा निगरानी कडा पार्दै श्रोत नखुलेको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
आज मिति २०८३ साल बैशाख ४ गते सशस्त्र प्रहरी बलको टोलीले रौतहट जिल्लाको राजदेवी नगरपालिका–८ सोफियामाई सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा नेपाली रुपैयाँ ५ लाख २२ हजार ४९० सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR06 A 6292 नम्बरको भारतीय मोटरसाइकल रोकी जाँच गर्दा उक्त रकम बरामद गरिएको जनाएको छ।
खानतलासीका क्रममा भारतको सितामढी निवासी करिब ४५/४६ वर्षीय नजिर नटको साथबाट ३ लाख २२ हजार रुपैयाँ तथा सर्लाहीका करिब ५५ वर्षीय मुम्ताज अन्सारीको साथबाट २ लाख ४९० रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त रकमको स्रोत खुलाउन नसकेपछि नगदसहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम सागर बिष्टले जानकारी दिए।
यसैबीच, सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गौरबाट खटिएको टोलीले रौतहटको गौर नगरपालिका–१ कानुपट्टी र परोहा नगरपालिका–८ नरकटिया सीमा क्षेत्रमा पनि कडाइका साथ चेकजाँच गरेको छ।
उक्त क्रममा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ५४ वटा (करिब १८६ केजी) भारतीय ब्रोइलर कुखुरा नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि तथा गौर भन्सार कार्यालयको समन्वयमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी अझ कडा बनाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *