कटहरिया-६ फतेपुरमा आम जनता पार्टीको भव्य भेला सम्पन्न, ४५ सदस्यीय वडा कमिटी गठन
रौतहट, भदौ ४ गते
रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ६, फतेपुरमा आज आम जनता पार्टी (आजपा) को आयोजनामा एक भव्य भेला सम्पन्न भएको छ। स्थानीय किसानका समस्यालाई केन्द्रमा राखी मलखाद तथा सिँचाइको तुरुन्त उपलब्धताको मागसहित आयोजना गरिएको उक्त भेलाले वडा स्तरमा संगठन सुदृढीकरणका लागि ४५ सदस्यीय वडा कमिटी गठन गरेको छ।
भेलामा सुरेश दासको नेतृत्वमा नयाँ वडा कमिटी चयन गरिएको छ, जसले आगामी दिनमा पार्टी नीति तथा जनताको हितमा कार्य गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि रूपमा आजपा नेता सियाराम कुशवाहाको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष नरेश तुरहा, स्थायी समिति सदस्य अन्जित कुशवाहा, युवा नेता महेश यादव लगायतका पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले किसानको जीवनस्तर सुधार, खेती योग्य जमिनमा सिँचाइको पहुँच, र मलखादको सहज आपूर्तिलाई प्राथमिकतामा राख्ने बताएका थिए। साथै, नवगठित कमिटीलाई पार्टीको नीति र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रेरणा दिइएको थियो।
भेलाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित नेताहरूले बधाई दिएका छन् र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
