राष्ट्रिय वृक्षारोपण दिवस २०८२ रौतहटमा विविध कार्यक्रमसहित मनाइयो, १३ सय बिरुवा रोपियो
राम प्रवेश बैठा
रौतहट, असार १४ गते – राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को विशेष अवसरमा रौतहट जिल्लामा विभिन्न कार्यक्रमहरूको आयोजना गरी दिवस भव्य रूपमा मनाइएको छ। डिभिजन बन कार्यालय रौतहटको समन्वयमा आयोजित कार्यक्रममा करिब १३ सय बिरुवा रोपिएको कार्यालयका प्रमुख हेमन्त कुमार साहले जानकारी दिनुभयो।
कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा वृक्षारोपण गरिनुका साथै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो। प्रमुख साहका अनुसार रोपिएका बिरुवाहरूमा फलफूल, औषधिजन्य तथा पर्यावरणीय महत्व भएका प्रजातिहरू समावेश छन्। उहाँले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणको आवश्यकता झनै बढेको बताउनुभयो।

“आजको दिनलाई केवल औपचारिकता नभई वातावरण संरक्षणको संकल्पको रूपमा लिन जरुरी छ,” प्रमुख साहले भन्नुभयो, “स्थानीय तह, विद्यालय, सामुदायिक वन तथा स्वयंसेवी संस्थाको सहकार्यले अभियानलाई अझ प्रभावकारी बनाएको छ।”
डिभिजन बन कार्यालयले आगामी दिनमा पनि निरन्तर रूपमा वृक्ष संरक्षण र वातावरणीय सचेतना फैलाउने कार्यक्रमलाई अगाडि बढाउने जनाएको छ। साथै, रोपिएका बिरुवाको संरक्षण र पालनपोषणका लागि पनि स्थानीय समुदायसँग सहकार्य गरिने जनाइएको छ।
