ईशनाथ नगरपालिकामा मेयर पदका लागि समाजसेवी लालबिहारी साहप्रति जनसमर्थन उच्च ।
रौतहट, ०६ असार ।
रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ मठिया टोलका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका प्रतिबद्ध नेता लालबिहारी साह बनियाप्रति स्थानीय जनताको भरोसा र समर्थन दिनप्रतिदिन उच्च बन्दै गएको छ। उनीलाई आउँदो स्थानीय तह निर्वाचन २०८४ मा मेयर पदका लागि अघि सार्न सर्वसाधारणदेखि राजनीतिक कार्यकर्तासम्मबाट व्यापक जनदबाब सिर्जना भइरहेको छ।
लालबिहारी साहको राजनीतिक यात्रा २०४७ सालमा नेपाली काँग्रेस पार्टीबाट सुरु भएको हो। त्यसबेलाको मठिया गाविसको गाउँ कमिटी सचिवबाट सुरुआत गरेका साह आज प्रदेशसभा (क) क्षेत्र नं. २ का सभापति पदमा रहँदै आएका छन्। पार्टीको विभिन्न तह–गतिविधिमा सक्रिय योगदान दिँदै आएका उनी संगठन सुदृढीकरणका साथै सामाजिक सेवा र समावेशी नेतृत्वका कारण आम जनमानसमा लोकप्रिय बन्दै आएका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा साहले काँग्रेसबाट उपमेयर पदमा उम्मेदवारी दिएका थिए। त्यो पहिलो चुनाव अनुभव भए पनि उनले उल्लेखनीय ४,५०० मत प्राप्त गर्दै आफूप्रति जनताको विश्वास प्रकट गराएका थिए। त्यही मत परिणामले साहप्रतिको जनसमर्थन झन बलियो बनाएको छ।
विगत लामो समयदेखि ईशनाथ नपाका विभिन्न वडामा सक्रिय रहँदै आएका साहले सडक, स्वास्थ्य, शिक्षा, सरसफाइ, महिला सशक्तिकरणदेखि सामाजिक न्यायका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। विपद् व्यवस्थापन, गरिबी निवारण तथा युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजनामा पनि उनले विशेष रुचि देखाउँदै आएका छन्।
ईमानदार, मृदुभाषी र दूरदर्शी व्यक्तित्वका धनी साहले नेपाली काँग्रेस पार्टीको जिल्ला स्तरमा समेत महत्वपूर्ण पहिचान स्थापित गर्न सफल भएका छन्। उनी जस्ता निष्ठावान् र जनउत्तरदायी नेतृत्वले नगरको समग्र विकासमा ठोस भूमिका खेल्ने विश्वास मतदाताहरूले व्यक्त गरेका छन्।
अबको २०८४ सालको स्थानीय निर्वाचनमा साहलाई मेयर पदको जिम्मेवारी दिनुपर्छ भन्ने जनअपेक्षा दिनप्रतिदिन चुलिँदै गएको छ। पार्टीभित्र र बाहिर दुवैतर्फबाट उनलाई अघि सार्न दबाब बढेको पाइन्छ। यस्तो सन्दर्भमा उनी आफैंले पनि जनताको सेवामा समर्पित भावनाले नेतृत्व लिन तयार रहेको संकेत दिएका छन्।
