आषाढ ०३ गते

रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत कटहरिया नगरपालिकाको एघारौं नगरसभा मंगलबार सम्पन्न भएको छ। सभामा नगर प्रमुख अजय प्रकाशले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेका छन्।

नगर प्रमुख अजय प्रकाशले बजेट प्रस्तुत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलनहरू – विशेषगरी मधेश आन्दोलन र त्यसमा भएका सहिदहरूको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे।

उनले प्रस्तुत गरेको बजेटमा संघीय संविधानमा उल्लेखित स्थानीय तहको अधिकार, नागरिकको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीति, दिगो विकासका लक्ष्य, चालु आवका अनुभवहरू, तथा सरोकारवालाबाट प्राप्त सुझावहरूलाई आधार मानेर कार्यक्रम तथा रकम विनियोजन गरिएको उल्लेख गरेका छन्।

कटहरिया नगरपालिकाले आगामी वर्षका लागि विभिन्न स्रोतबाट निम्न अनुसारको आम्दानी हुने अनुमान गरेको छ:

आन्तरिक आय: रु. ४ करोड

संघीय सरकार वित्तीय समानीकरण अनुदान: रु. १० करोड ९९ लाख

संघीय सरकार सशर्त अनुदान: रु. २० करोड ३२ लाख ५० हजार ९७२

संघीय सरकार राजस्व बाँडफाँट: रु. १० करोड २८ लाख ६१ हजार ३७१

प्रदेश सरकार वित्तीय समानीकरण अनुदान: रु. ७५ लाख ६५ हजार

प्रदेश सरकार राजस्व बाँडफाँट: रु. ६१ लाख ७४ हजार ८९०

स्थानीय सरकार राजस्व बाँडफाँट: रु. ७ करोड २८ लाख २ सय ४२

कुल आम्दानी: रु. ५४ करोड २५ लाख ५२ हजार ४७५

कटहरिया नगरपालिकाको कुल खर्च पनि आम्दानी बराबर राखिएको छ।

चालु खर्च: रु. ३९ करोड ४६ लाख २६ हजार १०४

पूँजीगत खर्च: रु. १४ करोड ७९ लाख २६ हजार ३७१

नगरपालिकाले पूँजीगत खर्चतर्फ निम्न शीर्षकहरूमा रकम विनियोजन गर्ने जनाएको छ। यद्यपि विस्तृत रकम सार्वजनिक नगरिएपनि प्राथमिकता दिइएका क्षेत्रहरू यस्ता छन्:

आर्थिक विकास

पूर्वाधार विकास (वडा समेत)

वातावरण तथा विपद् व्यवस्थापन

न्यायिक तथा विधेयक समिति

सार्वजनिक सेवा तथा क्षमता विकास

कर्मचारी कल्याण कोष

विपन्न सहायता कोष

सवारी साधन खरिद र फर्निचर/फिक्चर

अनुसन्धान तथा परामर्श

भैपरी आउने तथा आकस्मिक कोष

अन्य फिर्ता खर्च तथा समपुरक कोष

चालु खर्चतर्फ जनस्वास्थ्य, शिक्षा, प्रशासन, रोजगारी प्रवर्द्धन, महिला तथा बालबालिका, कृषिका लागि अनुदान, वरिष्ठ नागरिक सेवा, अपाङ्ग सहयोग, स्थानीय तहको प्रशासनिक सुधार, डिजिटल सेवा प्रणाली जस्ता कार्यक्रमहरूलाई समावेश गरिएको नगर प्रमुखले जानकारी दिए।

नगर प्रमुख अजय प्रकाशले भने, “यो बजेट हामीले केवल खर्चको औपचारिकता पूरा गर्न होइन, जनताको जीवनस्तर उकास्नका लागि ल्याएका छौं। हामी हरेक रुपैयाँ पारदर्शी ढंगले जनताकै सेवामा खर्च गर्नेछौं।”

नगर प्रमुखले नगरसभा सदस्यहरूद्वारा प्राप्त रचनात्मक सुझावलाई बजेट निर्माणको मार्गनिर्देशक मानेको बताउँदै आगामी दिनमा कार्यान्वयनमा सबैको साझा सहकार्य आवश्यक भएको धारणा राखे।

कटहरिया नगरपालिकाले आगामी वर्षका लागि समावेशी, सन्तुलित र दिगो विकासलाई ध्यानमा राखेर बजेट तर्जुमा गरेको देखिन्छ। स्थानीय तहको सशक्तिकरण, जनतामुखी कार्यक्रम र पारदर्शिता सुनिश्चित गर्न नगर प्रमुख अजय प्रकाश नेतृत्वको यो बजेटले अपेक्षित परिणाम दिन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर भने कार्यान्वयनमा निर्भर रहनेछ।
जिल्ला समन्वय समिति राैतहटका प्रमुख रामअयाेध्या प्रसाद रायकाे प्रमुख आतिथ्यमा भएको उदघाटन समारोहंमा नगर उपप्रमुख रिता देवी यादव, नगर प्रवक्ता मनोज जयसवाल ,नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कुमार कार्की ,पत्रकार संजय कुमार मिश्रा सहितका व्क्तताले कटहरियाको अपेक्षित विकास नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।सो नगर सभामा कटहरिया नगरपालिकाका सात वडाका वडा अध्यक्ष चन्दन कुशवाहा जय राम चौधरी सर्फलाल गुप्ता सहिद आलम हरेन्द्र प्रसाद जयसवाल भुपेन्द्र महतो समिस बिक्रम हरुले आज बिभिन् किसिमको जाल झेल गर्दै  हचुवाको भरमा नगर परिषद गरेकाे भनि सभा वहिष्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *