कर्णाली डेभलपमेन्ट बैङ्क समस्याग्रस्त, राष्ट्र बैङ्कले गर्‍यो टेक ओभर

0

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैङ्कको बुधबार बसेको सञ्चालक समिति बैठकले बैङ्कलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।

केन्द्रीय बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्क सञ्चालनका लागि बैङ्क तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति समेत गठन गरेको छ ।

समितिमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् ।

समितिले बिहीबारदेखि नै बैङ्कको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । उक्त समितिले नै संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने गरी अख्तियारी पाएको छ ।

समितिलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यु डेलिजेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने लगायत अख्तियारी प्रदान गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

नेपालगन्जमा रहेको यस विकास बैङ्कले तोकिए बमोजिमको पुँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैङ्कले मङ्सिर ११ गते शीघ्र सुधारात्मक कारबाही गरेको थियो ।

तर बैङ्कमा आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको राष्ट्र बैङ्कले औँल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *