रौतहटमा जनमत पार्टीका उम्मेदवार शेख प्रवेज आलमको राजीनामा, स्वतन्त्र राजनीतिक यात्राको घोषणा
चैत २० गते राम प्रवेश बैठा
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुर निवासी र जनमत पार्टीबाट रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका शेख प्रवेज आलमले पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आजकै मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
आलमले सुरुवातमा परिवर्तनको उद्देश्यका साथ जनमत पार्टीबाट उम्मेदवारी दिएको उल्लेख गर्दै आफू सधैं स्वतन्त्र रूपमा जनताको आवाज बन्न चाहेको बताएका छन्। तर पछिल्लो समय पार्टीभित्रको अवस्थाबारे मूल्यांकन गर्दा त्यहाँ रहेर साँचो परिवर्तन सम्भव नरहेको निष्कर्षमा पुगेको उनले स्पष्ट पारे।
उनका अनुसार लामो समयदेखि पार्टीभित्र कार्यकर्ताहरू पीडित हुने अवस्था देखिएको र त्यसले आफूलाई निराश बनाएको हो। “पार्टीभित्रैबाट वास्तविक परिवर्तन सम्भव नभएको महसुस गरेपछि मैले राजीनामा दिने निर्णय गरेको हुँ,” उनले भनेका छन्।
राजीनामासँगै आलमले अब पूर्ण रूपमा स्वतन्त्र राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन्। उनले जनताको हित, सुशासन, पारदर्शिता तथा वास्तविक परिवर्तनका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“अब मेरो यात्रा कुनै पार्टीको सीमाभित्र सीमित रहने छैन, सिधै जनताको विश्वास र समर्थनमा आधारित हुनेछ,” उनले बताएका छन्।
आलमले आफ्ना शुभेच्छुक, समर्थक तथा आम जनताप्रति निरन्तर साथ र विश्वासका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन्।
रौतहट क्षेत्र नं. ३ मा उनको यो निर्णयले स्थानीय राजनीतिक समीकरणमा नयाँ प्रभाव पार्ने देखिएको छ।
