रौतहट–१ मा आम जनता पार्टीको सम्पर्क कार्यालय उद्घाटन
माघ २० गते राम प्रवेश बैठा
रौतहट क्षेत्र नं–१ मा आम जनता पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार त्रिभुवन साहको गौरस्थित सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। उक्त कार्यालयको प्रमुख अतिथिका रूपमा आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले विधिवत रूपमा उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष प्रभु साहले देशमा व्याप्त भ्रष्टाचार, बेथिति र जनविरोधी नीतिको अन्त्यका लागि आम जनता पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभिएको बताउनुभयो। उहाँले रौतहट–१ बाट त्रिभुवन साहलाई विजयी गराई संसदमा जनताको आवाज बलियो बनाउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो।
उम्मेदवार त्रिभुवन साहले रौतहट–१ का जनताका समस्या नजिकबाट बुझेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्पर्क कार्यालय जनतासँग प्रत्यक्ष संवाद र समस्या समाधानको केन्द्र बन्ने बताउनुभयो।
कार्यक्रममा आम जनता पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ता, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। उद्घाटन समारोहले आगामी निर्वाचनमा रौतहट–१ मा आम जनता पार्टीको राजनीतिक गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ।
