चुरे तराई विकास नेपाल क्लबको उद्घाटन भव्य रूपमा सम्पन्न
माघ १ गते सोहन बैठा
रौतहटको वृन्दावन नगरपालिकामा आज चुरे तराई नेपाल क्लबको उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा नगरका विभिन्न वडाबाट आएका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा युवाहरूले सामूहिक रूपमा दीप प्रज्वलन गरी प्रसाद वितरण गर्दै क्लबको औपचारिक शुभारम्भ गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता गर्दै चुरे तराई विकास नेपाल क्लबका अध्यक्ष इन्द्रजित यादवले क्लबले आगामी दिनमा नगरबासीको हितका लागि विभिन्न सामाजिक तथा विकासमूलक कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानीलगायत जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका क्षेत्रमा सक्रिय भूमिका खेल्ने बताउनुभयो।
नगरको समग्र विकास र युवाको क्षमता अभिवृद्धिका लागि आवश्यक सबै सकारात्मक कार्यहरू गर्न क्लब सदैव अग्रसर रहने अध्यक्ष यादवको भनाइ थियो।
कार्यक्रमले स्थानीय युवाहरूलाई संगठित गर्दै सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने अपेक्षा गरिएको छ।
