मौलापुरस्थित श्री मा.वि. पथरा बुधराममा आठ कोठे भवन निर्माण हुने, अभिभावकहरू खुसी
माघ १ गते राम प्रवेश बैठा
रौतहटको मौलापुर नगरपालिका अन्तर्गत रहेको श्री माध्यमिक विद्यालय पथरा बुधरामका लागि अत्यन्तै खुसीको खबर आएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कुमार यादव र प्रधानाध्यापक राजेश सिंहको कार्यकालमा विद्यालयको शैक्षिक वातावरणदेखि भौतिक पूर्वाधारसम्म उल्लेखनीय सुधार हुँदै गएको भन्दै अभिभावकहरू खुसी व्यक्त गरेका छन् ।
शैक्षिक गुणस्तर सुधार, अनुशासन, व्यवस्थापन तथा पूर्वाधार विकासमा देखिएको सकारात्मक परिवर्तनका कारण विद्यालयप्रति विद्यार्थी र अभिभावकहरूको भरोसा बढ्दै गएको स्थानीयहरू बताउँछन् ।
यसैबीच, आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बजेट उपशीर्षक नं. ३५०००१०९ राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको गुरुयोजना बमोजिम तराई–मधेस क्षेत्रमा १५०० भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयहरूको सूचीमा श्री मा.वि. पथरा बुधराम छनोट भएको छ ।
उक्त छनोटसँगै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि एक करोड रुपैयाँभन्दा बढी लागतमा आठ कोठे पक्की भवन निर्माण हुने पक्का भएको छ । नयाँ भवन निर्माणपछि कक्षाकोठा अभावको समस्या समाधान हुनुका साथै पठन–पाठन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
विद्यालयका शिक्षक लखिन्द्र प्रसाद यादवले यस विषयमा जानकारी दिँदै भने, “यो उपलब्धि विद्यालय परिवार मात्र होइन, सम्पूर्ण पथरा बुधराम क्षेत्रका लागि गौरवको विषय हो । नयाँ भवनले विद्यार्थीहरूलाई सहज र गुणस्तरीय शैक्षिक वातावरण प्रदान गर्नेछ ।”
भवन निर्माणको खबर सार्वजनिक भएपछि विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायले विद्यालय व्यवस्थापन र नेतृत्वप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो नतिजाको अपेक्षा गरेका छन् ।
