सर्लाहीको विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित मानिस पक्राउ

सर्लाही, २२ भदौं ।
सर्लाहीको जिल्लाको विभन्न नाकाहरु भएर नेपाल भित्रयाईएका ठूला परिमाणमा लागुऔषध सहित मानिसलाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको फेसबुक पेजमा गरिएको उल्लेख अनुसार, प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरी टोलीले पर्सा गाउँपालिकाको सिमावर्ती क्षेत्रबाट हरिवन नगरपालिका ९ का २४ बर्षिय धर्मेन्द्र रासतलाई लागुऔषध सहित पक्राउ गर्न सफल भएका हुन् ।
प्रदेश १–०१–०२–०५४ प ४८३४ नम्वरको मोटरसाइकलमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ आउदै गरेका राउतलाई १०० एमएलको वानसिरेक्स २०१ थान बोतल सहित पक्राउ गरिएको छ ।
यसैगरी प्रहरी चौकी सिमरा फेनहराले विष्णु गाउँपालिकाको सीमावर्ती क्षेत्रबाट कोढिबेल सिरफ १०० एमएलको १९७ थान बोतल र नाइट्राभेट ४४ं० ट्याब्लेट फालेर भागेपछि प्रहरीले बेवारिसे अवस्थामा समातिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गस्तीमा रहेका प्रहरीलाई देख्नासाथ लागुऔषधको झोला छाडेर भारत तर्फ भागेको बताइएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएका प्रहरी टोलीले बागमती नगरपालिका वडा नम्वर १२ बथाने टोलबाट सोही स्थानका ५५ वर्षीय ओमप्रकाश वर्नवाललाई ३३० एम्पुल लागुऔष सहित पक्राउ गरेको छ । लागुऔषधको कारोवार भइरहेको सूचना पाएर प्रहरी टोलीले घरमा लुकाइराखेको डाइजेपाम ११४ एम्पुल, नोफिन १०२ एम्पुल र फेनरगन ११४ एम्पुलसहित वर्नवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गरेर लागु औषध ओसारपसार कसुरमा मुद्दा चलाइएर आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।
