आरपार कोचिङ सेन्टरको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
सागर संगम ठाकुर
रौतहट असार १७ गते
रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा सञ्चालित आरपार कोचिङ सेन्टर परिवारले शिक्षक सेवा उत्तीर्ण परीक्षामा उल्लेखनीय सफलता प्राप्त गरेका विद्यार्थीहरूको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम स्थानीय समाजसेवी हरिश्चन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि जय किसान नमूना माध्यमिक विद्यालय धरहरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामनन्दन साह रहनुभएको थियो। २०७९ सालदेखि निरन्तर रूपमा सञ्चालनमा रहेको आरपार कोचिङ सेन्टरले हालैको परीक्षामा ८०% विद्यार्थीलाई सफलता दिलाएको छ। यस वर्ष तीन जना विद्यार्थी शिक्षक सेवा आयोगको परीक्षामा सफल भएसँगै सम्मान कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक श्री संजय प्रसाद गुप्ताले कोचिङ सेन्टरको प्रयासको प्रशंसा गर्दै विद्यालय र आफ्नाे व्यक्तिगत तर्फबाट आवश्यक सबै किसिमको सहयोग गर्न तत्पर रहेको बताउनुभयो। कार्यक्रममा वडाध्यक्ष वीर बहादुर साहद्वारा अघिल्लो आर्थिक वर्षमा गरिएको एक लाख रुपैयाँको सहयोग विशेष रूपमा उल्लेख गरिएको थियो। उहाँले वडाका अति विपन्न तथा पिछडिएका वर्गका विद्यार्थीहरूलाई शिक्षामा पहुँच दिलाउन निरन्तर लागिरहेकै कुरा दोहोराउनुभयो। कोचिङ सेन्टरका संस्थापक रामानन्द प्रसाद यादव र सह-संचालक मुकेश प्रसाद यादवको नेतृत्वमा संस्था शिक्षाको गुणस्तर उकास्न सफल भएको भन्दै विभिन्न वक्ताहरूले भविष्यमा पनि संस्थालाई साथ र सहयोगको प्रतिबद्धता जनाए। कार्यक्रमको अवसरमा प्रशिक्षकहरूलाई ड्रेस वितरण गरिनुका साथै समाजसेवीहरू र पत्रकार सागर संगम ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
