मौलापुर नगरपालिकामा डिप बोरिङ जडानको कार्य तीव्र, नगरप्रमुख साहद्वारा निरीक्षण
राम प्रवेश बैठा
असार १५ गते
रौतहटको मौलापुर नगरपालिका अन्तर्गत मौलापुर बजार, चिरचिरीया, पथराबुधराम लगायतका क्षेत्रहरूमा डिप बोरिङ जडानको कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। नगरवासीहरूको दीर्घकालीन खानेपानी समस्यालाई समाधान गर्ने उद्देश्यले नगरपालिकाले यो पहल थालेको हो।
नगरप्रमुख रीना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत राम बाबु साहले हालै ती स्थानहरूको निरीक्षण गरी कार्यको प्रगति मूल्याङ्कन गर्नुभएको छ। निरीक्षणको क्रममा नगरप्रमुख साहले भनिन्, “मधेश प्रदेशका धेरै ठाउँहरूमा खानेपानीको समस्या गम्भीर बन्दै गएको छ। हाम्रो नगरमा यो समस्या समाधान गर्न हामीले समग्र रूपमा योजना बनाई कार्यान्वयन थालेका छौं। सबै वडामा पानी पुग्ने व्यवस्था मिलाउने हाम्रो उद्देश्य हो।”
नगरपालिकाले प्राथमिक रूपमा पानीको पहुँच न्यून रहेका क्षेत्रहरूमा डिप बोरिङ जडान कार्य सुरू गरेको छ। खानेपानी पहुँच नभएकै कारण विगतमा धेरै स्थानीयवासीले दैनिक जीवनयापनमा कठिनाइ भोग्नुपरेको थियो। यो परियोजनाबाट हजारौं स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत राम बाबु साहले समेत स्थानीय निकायको सक्रिय सहभागिता र पारदर्शिता सुनिश्चित गर्दै गुणस्तरीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनशक्तिको उचित व्यवस्थापन र प्रविधिको भरपूर उपयोग गर्दै योजना निर्धारित समयमा सम्पन्न हुने विश्वास दिलाउनुभयो।
स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो पहलको स्वागत गर्दै खानेपानी समस्या समाधानतर्फ सकारात्मक संकेत देखिएको प्रतिक्रिया दिएका छन्।
नगरपालिका स्रोतका अनुसार आगामी चरणमा बाँकी वडाहरूमा पनि क्रमशः डिप बोरिङ जडान कार्य अघि बढाइनेछ।
