गरुडा नपा-२ गेरही गुठीमा ३७ जना छात्रलाई साइकलबितरण, कक्षा ११ को शुभारम्भ
राम प्रवेश बैठा
असार १५ गते
रौतहटको गरुडा नगरपालिका–२ अन्तर्गत गेरही गुठीस्थित श्री मावि गेरही गुठीमा आज एक विशेष कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा ३७ जना छात्रलाई अध्ययनमा सहजता ल्याउनका लागि साइकलबितरण गरिएको छ। साथै, विद्यालयमा कक्षा ११ को औपचारिक शुभारम्भ पनि गरिएको छ।
उक्त कार्यक्रम गरुडा नगरपालिकाका मेयर श्री कन्थमनी प्रसाद जैसवालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उहाँले छात्रहरुलाई स्वस्फूर्त शिक्षामा लाग्न प्रेरणा दिँदै साइकलबितरण गरे। साथै नवसुरु गरिएको कक्षा ११ को औपचारिक उद्घाटनसमेत गर्नुभएको थियो।
कार्यक्रममा गेरही गुठीका वडा अध्यक्ष श्री किसनन्दन साहनी, गरुडा नगरपालिकाका शिक्षा संयोजक प्रमुख श्री सरोज गौतम, विद्यालयका प्रधानाध्यापक श्री मौजेलाल साह लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो।
उक्त अवसरमा स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा विद्यार्थीहरूमा शैक्षिक सामर्थ्य अभिवृद्धि गर्ने, ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउने लक्ष्य रहेको आयोजकको भनाइ छ।
