निजी वायु सेवा प्रदायकप्रति निकै आक्रामक महानिर्देशक अधिकारीले उड्डयन क्षेत्र ५ जनाले कब्जा

0

पुस १२, २०८१ शुक्रबार 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोके तीनवटै विमानस्थल चल्ने दाबी गरेका छन्।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट-२०२४’ कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो दाबी गरेका हुन्। उनले सरकारले अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता तोक्न नसक्दा समस्या भएको तर्क पनि गरे।

भैरहवा, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एकैपटक चल्न सक्ने अवस्था नभएको उनको धारणा थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमताअनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा र पोखरा विमानस्थल चल्ने दाबी गर्दै उनले क्षमता तोक्न सरकारसँग आग्रह गरे।उनले भने, ‘सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमताअनुसार चलाउन निर्णय गरेको दिन भैरहवा, पोखरा विमानस्थल चल्छन्। क्षमताअनुसार विमानस्थल चलाउने भनेर जुन दिन भन्छौँ, भैरहवा, पोखरा त्यही दिनदेखि चल्छन्। यसले भैरहवा, पोखरा, काठमाडौँ कनेक्टिभिटी बढ्छ। अन्तर्राष्ट्रिय उडानहरू बढ्छन्। भविष्यमा अर्थतन्त्रमा ठूलो योगदान पुग्छ। योभन्दा बढी सरकारले कमाउन सक्छ। यस्तो हुँदा काठमाडौँको विमानस्थल रातभरि चलाउनुपर्दैन। होल्डिङमा पनि बस्नुपर्दैन।’

निजी वायु सेवा प्रदायकप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका महानिर्देशक अधिकारीले उड्डयन क्षेत्र ५ जनाले कब्जा गरेको आरोपसमेत लगाए।  ‘विमानस्थल १० घण्टा बन्द गर्न धेरै लड्नुपरेको छ,’ उनले भने, ‘५० लाख यात्रु क्षमता निश्चित गरौँ भन्दा निजी क्षेत्रले सरकारलाई सपोर्ट गर्छ। अहिले नै मलाई नै चाहियो, अहिले कमाउनुपर्छ भनेर पाँच जना मान्छेले कब्जा गरेर राखेका छन्। यो वास्तविकता हो।’

निजी क्षेत्र तत्कालको स्वार्थमा मात्र केन्द्रित भएको उनको टिप्पणी थियो।

‘पाँच महिना पनि धैर्य गर्न सक्ने निजी क्षेत्र देखिएन,’ अधिकारीले थपे, ‘पाँच महिना विमानस्थल बन्न दिउँ भन्ने धैर्य देखिएन। विमानस्थल ५ घण्टा बन्द गरेर यात्रुहरूको कटौती भएको छैन। बन्द हुनुभन्दा पहिलाको जस्तै नै क्षमतामा विमानस्थल सञ्चालन गरेका छौँ। एउटै कुरा भैरहवा, पोखरा र त्रिभुवन विमानस्थल पनि चल्ने अवस्था हुँदैन। यति बुझेको दिन तीनवटै विमानस्थल चल्छन्।’

प्राधिकरणले सबै कुरा सम्बोधन गर्न नसक्ने उनको धारणा थियो। उनको भनाइ थियो, ‘प्राधिकरणले डिले भयो, त्रिभुवन विमानस्थलमा शौचालय राम्रो भएन र भैरहवा, पोखरा विमानस्थल सञ्चालनमा आएन भनेर कुरा सुन्नुपर्छ। एउटै निकायले सबै कुरा सम्बोधन गर्न सक्दैन। तर चेपुवामा भने क्यानको नेतृत्व पर्ने रहेछ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *