क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सुरू
१२ पुस २०८१, शुक्रबार
मधेस प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सुरू भएको छ ।
आज जनकपुरधाममा राष्ट्रिय बीमा कम्पनीले आयोजना गरेको कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नेसम्बन्धी सम्झौतामा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी तथा राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले हस्ताक्षर गरे ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमातहतको आमसञ्चार प्राधिकरणले मधेसमा रहेका सबै क्रियाशील पत्रकारहरूको रू एक लाखको स्वास्थ्य बीमा तथा रू सात लाखको दुर्घटना बीमा गर्ने कार्य सुरू गरेको हो ।
कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले मधेस प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रूपमा गरेर प्रमाणित गरेको बताए ।
पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रूपमा प्रदान गर्ने जानकारी दिँदै निकट भविष्यमा नै मधेस प्रदेशका सबै सहिद परिवारलाई रू एक लाखको स्वास्थ्य बीमा निःशुल्क रूपमा गर्ने तयारी प्रदेश सरकारले गरेको उनले जानकारी दिए ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेस प्रदेशमा तीन वर्षदेखि निरन्तर रूपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको रू एक लाखको स्वास्थ्य तथा रू सात लाखको दुर्घटना बीमा गर्ने बताए ।
