मौलापुर नगरपालिकामा सिकाइ स्तरमा आधारित शिक्षण तालिम ८ दिने सम्पन्न
राम प्रवेश बैठा
मौलापुर, असार ८ – रौतहट जिल्लाको मौलापुर नगरपालिकामा आठ दिने सिकाइ स्तरमा आधारित शिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। असार १ गतेदेखि सुरु भएको तालिम असार ८ गते समापन गरिएको हो। तालिममा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत ३६ जना शिक्षक शिक्षिकामूखी सहभागिता रहेको थियो।
उक्त तालिम आसामान नेपालको आयोजनामा तथा मौलापुर नगरपालिकाको समन्वय र स्ट्रिट चाईल्ड अफ नेपालका प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। तालिमको उद्देश्य सिकाइ स्तर पहिचान गरी विद्यार्थीको क्षमताअनुसार शिक्षण सिकाइ गराउने दक्षता विकास गर्नु रहेको थियो।
तालिममा शिक्षणमा प्रयोग गरिने बालमैत्री विधि, सिकाइ सहजीकरणका प्रविधि, समावेशी शिक्षा, मूल्याङ्कनका विधि, कक्षा व्यवस्थापन, तथा व्यवहारिक शिक्षण रणनीतिका विषयमा विस्तृत जानकारी र अभ्यास गराइएको थियो। प्रशिक्षकको रूपमा अनुभव प्राप्त शिक्षा अधिकृत तथा स्रोत व्यक्तिहरूको टोलीले तालिम सहजीकरण गरेका थिए।
समापन समारोहमा मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह उपमेयर नगेन्द्र यादव प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह शिक्षा शाखा प्रमुख, राम एकवाल राय यादव सहायक शिक्षा संयोजक धर्मेन्द्र कुमार साह र उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुखले सिकाइ स्तरको आधारमा शिक्षण गर्नाले कमजोर, मध्यम र सक्षम विद्यार्थीहरू सबैको सिकाइ सुनिश्चित हुने बताउँदै यस्ता तालिमहरू निरन्तर आवश्यक रहेको धारणा राखे।
सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिँदै प्राप्त ज्ञान र सीपलाई कक्षा कोठामा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्। मौलापुर नगरपालिकाले आगामी दिनमा समेत यस्ता टार्लबिधि तालिमहरूलाई प्राथमिकता दिने जनाएको छ।
