दिक्तेल फुटबल क्लब र सोल्मा निलो फाइनलमा
कार्तिक ४, २०८१ खोटाङ —
सोल्मामा जारी प्रथम सोल्मा यू १७ फुटबल प्रतियोगितामा दिक्तेल फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव (निलो) फाइनलमा पुगेका छन् । आइतबार भएको सेमीफाइनल खेलमा नेर्पा स्पोर्टस् क्लवलाई हराउँदै दिक्तेल फुटबल क्लव र खोटाङ फुटबल एकेडेमीलाई हराउँदै सोल्मा निलो फाइनलमा प्रवेश गरेका हुन् ।
आइतबार भएको खेलमा नेर्पा स्पोर्टस् क्लब र दिक्तेल फुटबल क्लब बीच भएको खेलमा एक–एक गोल बराबरीपछि टाइब्रेकरमा नेर्पा स्पोर्टस् क्लव पराजित भएको हो ।
त्यस्तै, आइतबारै भएको खोटाङ फुटबल एकेडेमी र सोल्मा निलो बीचको खेलमा पनि एक–एक गोल बराबरी हुँदा टाइब्रेकरमा खोटाङ फुटबल एकेडेमी पराजित भएको थियो ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ५ गते दिउँसो साडे ११ बजे हुने आयोजकले जनाएको छ । खेलको विजेता टिमले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबबिक्रम राईले बताए ।
