प्रशासनद्वारा चाडपर्वमा प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न आग्रह
२०८१ आश्विन २३ लमजुङ ।
लमजुङमा जिल्ला प्रशासन कार्यालयले प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले सर्वसधारण तथा विभिन्न कार्यक्रमका आयोजक संघसंस्था, सरकारी तथा गैरसरकारी कार्यालय आदि सबैमा वातावरण मैत्री स्थानीय क्षेत्रमा उत्पादन भएका फूलमालाको प्रयोग गर्न सूचनामार्फत आग्रह गरेको छ । बडादशैं, शुभ दिपावली, छठ लगायतका पर्वहरू नेपाली घर आँगनमा भित्रीसकेको हुँदा गरेकोले चाडपर्वहरूमा स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गर्दै शुक्रवार एक सूचना जारी गरेको छ ।
लमजुङ जिल्लामा बेसीशहर नगरपालिका लगायत विभिन्न पालिकाहरूमा पुष्प खेती व्यवसायको रुपमा विकास हुने क्रममा सुरु भइसकेको मात्र नभई पुष्प व्यवसायमा जिल्ला आत्मनिर्भर समेत हँुदै आएको सन्दर्भमा प्लाष्टिकजन्य वस्तुबाट निर्मित फूलमाला, खाँदा र अन्य सामग्रीको प्रयोग नगर्न प्रशासनले अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुँयलले बताए ।
उनका अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १६ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण र भण्डारण गर्न पूर्ण रुपमा रोक लगाईएको छ । उनले भने, ‘गत वर्ष २०७९ श्रावण १२ को नेपाल राजपत्रमा समेत सूचना प्रकाशन गरिएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गरी सर्वसाधारणलाई सचेत गराएको हो ।’
वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लाष्टिकजन्य फूलमालाको उत्पादन, विक्रिवितरण, ओसारपसार र उपभोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए । उनका अनुसार बजार अनुगमनको क्रममा त्यस्ता प्लाष्टिकजन्य सामग्रीहरू विक्रिवितरण भएको पाइएमा उक्त सामान जफत गरी कडा जरिवाना गर्न जिल्ला प्रशासन कार्यालय बाध्य हुनेछ ।
उनले भने, ‘कानुन पालन गर्ने गराउने, वातावरणमैत्री र स्थानीय उत्पादनलाई प्रवर्धन गर्न समेत टेवा पुग्ने भएकाले प्राकृतिक रुपमा उत्पादन भएको पुष्पगुच्छा, फुलमालाको प्रयोगलाई प्रोत्साहन गर्नु गराउनुहुन सबै सरकारी, निजी, गैर सरकारी कार्यालयहरू र नागरिकहरूलाई अनुरोध गरेका छौं ।’ हाम्रो मनसाय दण्डित नै गर्नु पर्छ भन्ने कदापि होइन प्रजिअ गुरुङ भने ।
बडादशै, तिहार, छठ पर्वलगायतका चाडहरूमार्फत भातृत्व र भाइचाराको विकास हुने र सामाजिक सद्भाव र समभाव प्रवर्धन गर्न समेत टेवा पुग्ने विश्वास लिइएको प्रमुख जिल्ला अधिकारी गुरुङले बताउछन् ।
