खनालको सुझाव र नेताको बहिर्गमन
युवा नेताका लागि दिशायोग्य छ । उहाँले दलहरूले बहिर्गमन नीति नबनाउँदा शीर्ष नेता जहिले पनि कसरी शक्तिमा बसिरहने भन्ने योजना बुन्नमै व्यस्त भएको र त्यसैकारण नेपालमा परिवर्तनको आभास जनताले पाउन नसकेको हुँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सबै पार्टीले बहिर्गमन नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएको उल्लेख गर्नुभएको छ ।

शीर्ष नेताहरूको निर्णय क्षमताले धेरै पटक दुर्घटना निम्त्याएको उदाहरण दिँदै खनालले तिनै नेतालाई पुनः शक्तिमा पुर्याउने र वैकल्पिक नेतृत्वलाई सधैं थिचेर राखिराख्ने संगठन संरचनाले देशमा सुधार आउन नसकेको तर्क दिनुभएको छ । जुन शतप्रतिशत सही हो ।
उहाँले २०५९ मा राजालाई सत्ता बुझाउने देउवा र २०७७/७८ मा २/२ पटक संविधानविपरीत संसद् विघटन गर्ने केपी शर्मा ओलीलाई गलत निर्णय लिएका आधारमा नेतृत्वबाट पन्छाउन सकेको भए दलहरूको अवस्था र आन्तरिक लोकतन्त्र सबल हुन्थ्यो भन्नुभएको छ । जुन युवा नेताहरूले मनन गर्न जरुरी छ ।
नेपालका नेताहरूले केही दिनअघिको टुँडिखेल घटना र बंगलादेशको आन्दोलनबाट धेरै सिक्नुपर्ने अवस्था आएको छ । ठूला नेता र दलले समय छँदै आफूहरूलाई नसच्याएमा कुनै पनि बेला नेपालमा बंगलादेशको जस्तो अवस्था आउन सक्छ भन्ने सन्देश र संकेत टुँडिखेल घटनाले दिएको छ ।
राजनीतिमा एउटै अनुहार सधैं हेर्नुपर्ने, ४ पटक, ६ पटकसम्म उही अनुहार प्रधानमन्त्री बनिरहने, नेताहरूको बहिर्गमन नीति लागू गर्न नखोज्ने, प्रणालीगत सुधारमा चासो नदिने, अपराध पृष्ठभूमिका मानिसलाई मन्त्री बनाएर जनतामाथि शासन गर्ने, के यही हो राजनीति ? यस्ता अनेक कारणले यतिखेर नेपाली जनता शीर्ष नेताप्रति खुसी छैनन् । यसर्थ दल र दलका नेताहरूले आफूलाई सच्याउन जरुरी छ । जनता जागेपछि के हुन्छ ? कसरी शासन सत्ता छिनभरमै आकाशको फल हुन्छ भन्ने नेताहरूले बेलैमा सिके त्यसले उनीहरूकै हित गर्छ ।
सरकारी सेवामा कुनै सहजता छैन । सरकारी र सार्वजनिक जग्गा नेता, बिचौलिया मिलेर दोहन गरेका छन् । सरकारी कोषमा उनीहरूकै हालीमुहाली छ । विद्युत् महसुल तिर्नुपर्छ भन्ने सञ्चालक रातारात हटाइएका छन् । सरकारी राजस्व र महसुल उठाउनुपर्ने दायित्व बोकेका प्रधानमन्त्री नै महसुल नतिरे पनि लाइन जोड भन्छन् ।
सरकारी सेवाहरूमा आरक्षण सिटको कुनै पुनरावलोकन गरिएको छैन । यस्तै कारणले आमनेपाली जनतामा नेताहरूप्रति असन्तुष्टि चुलिएको छ । त्यसैले खनालले भनेजस्तै पुराना नेता सुध्रिएलान् भन्ने विश्वास अब छैन, उनीहरू फालिनुपर्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं
