वृन्दावन नगरपालिकामा भिजनयुक्त नेतृत्व र समर्पित प्रशासनको संयोजनले विकासको गति दोब्बर
राम प्रवेश बैठा
रौतहट, असार २३
रौतहट जिल्लाको वृन्दावन नगरपालिका हालका दिनमा समग्र विकासको उदाहरणीय मोडेल बन्दै गएको छ। नगर प्रमुख विनोद प्रसाद कुर्मीको निरन्तर सक्रियता र दूरदर्शी नेतृत्व, साथै प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको इमानदार र पारदर्शी सेवाभावले गर्दा नगरमा विकासको गति तीव्र रूपमा अगाडि बढिरहेको देखिन्छ।
विकासको यात्रामा नगरभित्रका आधारभूत भौतिक पूर्वाधार योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयनमा आएका छन्। सडक मर्मत तथा विस्तार, नाला तथा ढल निकास सुधार, स्वच्छ पानीको पहुँच, सामुदायिक भवनहरूको निर्माण तथा सार्वजनिक स्थानहरूको संरक्षण र प्रवर्द्धनका काम तीव्र गतिमा भइरहेको छ।
नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राख्दै प्रभावकारी योजनाहरू लागू गरेको छ। विद्यालयहरूको स्तरोन्नति, शिक्षक व्यवस्थापन सुधार, स्वास्थ्य चौकीहरूमा जनशक्ति थप तथा सेवा विस्तारले नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुर्याएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार हाल वृन्दावन नगरपालिका सेवा प्रवाह र विकास कार्यान्वयनमा प्रदेशमै उदाहरणीय बन्दै गएको छ।
सक्रिय नेतृत्व र समर्पित प्रशासनको सफल संयोजनले वृन्दावन नगरपालिकाको भविष्य उज्यालो देखिएको छ, जुन अबको दिनमा अन्य पालिकाहरूका लागि पनि अनुकरणीय बन्ने अपेक्षा गरिएको छ।
