नेपाल विद्युत प्राधिकरणको ढल्केबर–लोहारपट्टी प्रसारण लाइन संचालनमा

0

जनकपुरधाम, ३१ साउन ।

धनुषा र महोत्तरीमा विद्युत आपूर्ती प्रणालीलाई सुदृढ पार्न ढल्केबरबाट लोहारपटि सम्मको १३२ केभी डबल सर्किट प्रसारण लाईन संचालनमा आएका छन् ।
ढल्केबर–लोहारपट्टी प्रसारण लाइनको लोहारपट्टीमा निर्माण सम्पन्न भएपछि १३२ केभी सबस्टेसन हिजो देखि सञ्चालनमा (चार्ज) ल्याइएका हुन् ।
धनुषा र महोत्तरी जिल्लामा विद्युत् आपूर्ति प्रणालीलाई सुदृद्ध पार्न तथा बढ्दो विद्युत् मागलाई समुचित रुपमा व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र विद्युत् प्राधिकरणको करिब १ अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको छ ।
डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ वटा टावर निर्माण गरिएको बताइएको हो । सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभीए क्षमताका दुई थान पावर ट्रान्सफर्मर र १३२÷११ केभी, २२.५ एमभीए क्षमताको एक थान ट्रान्सफर्मर जडान गरिएका छन् । समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभीए छ ।
सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्य रूपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्र अन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन् ।
अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज र छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भई समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *