गुजरा नगरपालिकाको १२औं नगर अधिवेशन भव्य रूपमा सम्पन्न, नीति तथा कार्यक्रम सार्वजनिक
असार १० गते राम प्रवेश बैठा
रौतहटको गुजरा नगरपालिकाको १२औं नगर अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनमा नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले आर्थिक वर्ष २०८२/२०८३ को लागि ५० करोड ४ लाख १८ हजार ३६० को नीति तथा कार्यक्रम उपनगर प्रमुख रत्न लामाको आदेशमा प्रमुख प्रशासकीय अधिकृतले सार्वजनिक गरेका छन्।
नगर प्रमुख चौधरीको अध्यक्षतामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि प्रवर्द्धन, स्वच्छ खानेपानी, महिला सशक्तीकरण तथा युवालाई उद्यमशीलता तर्फ प्रेरित गर्ने योजनाहरू समेटिएको छ। साथै, नगरलाई सफा, हरित र डिजिटल बनाउने दीर्घकालीन लक्ष्य समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
अधिवेशनमा नगर उप–प्रमुख, वडाध्यक्षहरू, कर्मचारी, सर्वसाधारण र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नगरपालिकाको विगत वर्षको समिक्षा गर्दै आगामी वर्षका प्राथमिकताहरूमा पनि छलफल गरिएको थियो।
नगर प्रमुख चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै योजनाहरू निर्माण गरिएको बताए। उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
नगर अधिवेशनमार्फत गुजरा नगरपालिकाले आगामी वर्षको विकास यात्रा प्रारम्भ गरेको छ।
