सूर्य नेपाल इस्टर्न ओपन सुरु, कोर्स रेकर्डसहित निरजलाई चार स्ट्रोकको अग्रता

0

१० पुस २०८१, बुधबार धरान ।

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ८-अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित सानदार नतिजामा निरज तामाङ शीर्षस्थानमा रहन सफल भएका छन् ।

घरेलु प्रो निरजले २०२२-२३ सिजनमा शुकबहादुर राईले बनाएको ७-अन्डर ६३ को रेकर्ड तोड्दै नयाँ कोर्स रेकर्ड बनाएका हुन् । उनले धनबहादुर थापालाई ४ स्ट्रोकले पछि पारे ।

धरानस्थित ७० पारको धरान गल्फ क्लबमा ४-अन्डर ६६ को स्कोरमा धन दोस्रो स्थानमा छन् । ३-अन्डर ६७ को नतिजामा भुवन कुमार रोक्का तेस्रो स्थानमा रहे। एमेच्योर सुन्दर राई सहित प्रोहरू युवराज भुजेल र विष्णु प्रसाद शर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे। १-अन्डर ६९ को स्कोरमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, बलभद्र राई र एमेच्योर जितेन्द्र राई संयुक्तरुपमा सातौं स्थानमा छन् ।

यसैगरी १-ओभर ७१ को स्कोर बनाएका रामे मगर, सुनिल केसी, रवि खड्का, रमेश अधिकारी र एमेच्योर सुरेश तामाङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन् ।
धारनका प्रो निरजले बोगी फ्री ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड बनाउने क्रममा फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। ५-पारको १२औ होलमा इगलको सफलता प्राप्त गरेका उनले १५औं र १८औं होलमा पनि एक-एक सट बचाए। उनले ब्याक नाइन ४-अन्डर ३० मा सकाए।

धनले दोस्रो होलमा बोगी खेलेपनि तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि १३औं होलको बोगी विरूद्ध १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३० मा पुरा गरे।

तेस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइनमा २-अन्डर ३४ र ब्याक नाइनमा १-अन्डर ३३ खेले। उनले कुल ५ बर्डी र २ बोगी प्रहार गरे। तेस्रो, सातौ, नवौं, पन्ध्रौं र अठारौं होलमा एक-एक सट बचाए। पहिलो र सत्रौं होलमा बोगी खेपे।

५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशी रहेको छ‌। विजेताले उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार नगद प्राप्त गर्नेछन् ।

दोस्रो दिनको समाप्तीमा कट लागु हुनेछ र उत्कृष्ट २१ प्रोफेसनल गल्फरले अन्तिम १८ होलको लागि स्थान बनाउने छन् । एमेच्योर खेलाडीको हकमा पनि सोहि कट लागु हुने छ। तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागीता रहेको छ । शनिबार प्रो एम इभेन्ट हुनेछ।

यो सिजन आठ प्रतियोगितामा कुल ६७ लाख नगद पुरस्कार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *