रौतहटमा महिलाको हत्या, गहना लुटिएको आशंका

0

जेठ २९ गते राम प्रवेश बैठा

रौतहटको परोहा नगरपालिका–७ नरकटियाकी एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ।

स्थानीयवासीका अनुसार आज बिहान करिब ७ बजे खेतबारी हेर्न गएकी श्री दीपनारायण राउत कुर्मीकी श्रीमती मृत अवस्थामा फेला परेकी हुन्। खेत क्षेत्रमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक जानकारी अनुसार अज्ञात व्यक्तिले महिलामाथि आक्रमण गरी घाँटी थिचेर हत्या गरेको आशंका गरिएको छ। मृतकले लगाएका सुनचाँदीका गहना समेत हराएको पाइएकोले लुटपाटपछि हत्या गरिएको हुन सक्ने स्थानीयको अनुमान रहेको छ।

घटनापछि गाउँमा शोकको वातावरण छाएको छ भने स्थानीयवासीले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

घटनास्थलमा पुगेको प्रहरीले शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। साथै घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

हत्या र लुटपाटको आशंकासँग जोडिएको यस घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *