नगर प्रमुख कुर्मिद्वारा श्री रूपा नेपाली पाल माविमा चारकोठे भवन निर्माणको शिलान्यास
प्रदीप कुमार दास, रौतहट ।
जेठ १५ गते, शुक्रबार ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका अन्तर्गत रहेको श्री रूपा नेपाली पाल माध्यमिक विद्यालय मा आधुनिक शैक्षिक पूर्वाधार विस्तारको उद्देश्यसहित चारकोठे पक्की भवन निर्माण कार्यको शिलान्यास सम्पन्न गरिएको छ । नगरपालिकाको शैक्षिक विकास योजनाअन्तर्गत निर्माण हुन लागेको उक्त भवनको शिलान्यास नगर प्रमुख विनोद प्रसाद कुर्मी द्वारा एक विशेष समारोहबीच गरिएको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र कुमार सिंह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख कुर्मी प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।
शिलान्यासअघि हिन्दु धार्मिक परम्पराअनुसार विधिपूर्वक पूजाआजा गरिएको थियो । विद्यालयमा कार्यरत शिक्षक तथा पण्डित कपिलदेव झा ले वैदिक मन्त्रोच्चारणसहित पूजाआजा गराउँदै भवन निर्माण कार्यको शुभारम्भ गराएका थिए । धार्मिक विधिसहित गरिएको शिलान्यासले कार्यक्रममा थप गरिमा प्रदान गरेको सहभागीहरूले बताएका छन् ।
नगरपालिकाले सार्वजनिक टेण्डर प्रक्रियामार्फत भवन निर्माणको जिम्मेवारी सृष्टि निर्माण सेवा कम्पनी लाई दिएको जनाएको छ । करिब १ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनमा आधुनिक कक्षाकोठा निर्माण गरिनेछ । भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक संरचना थप व्यवस्थित हुनुका साथै विद्यार्थीहरूको पठनपाठनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विनोद प्रसाद कुर्मीले शिक्षा क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयहरूको भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सामुदायिक विद्यालयलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने लक्ष्यसहित विभिन्न योजना अघि बढाइएको जानकारी समेत दिए ।
त्यसैगरी कार्यक्रममा नगर शिक्षा संयोजक तथा श्री बतहु माध्यमिक विद्यालय का प्रधानाध्यापक उपेन्द्र महतो, वडाध्यक्ष जगरनाथ प्रसाद पाल, युवा नेता संतोष पटेल, धर्मेन्द्र पटेल, शिक्षक हरिदेव प्रसाद साह लगायत विभिन्न वडाका जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, राजनीतिक दलका नेता–कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
स्थानीयवासीहरूले विद्यालयमा नयाँ भवन निर्माण हुन लागेकामा खुसी व्यक्त गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । शिक्षा क्षेत्रमा भइरहेको पूर्वाधार विकासले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढ्नुका साथै विद्यार्थीहरूलाई सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।
