सोनरनिया नमूना विद्यालयको नयाँ भवन निर्माण शिलान्यास, शिक्षा क्षेत्रमा मौलापुरको ऐतिहासिक कदम
राम प्रवेश बैठा
असार १९ गते
रौतहटको, मौलापुर नगरपालिका अन्तर्गत सोनरनिया नमूना विद्यालयको बहुप्रतीक्षित १२ कोठे नयाँ भवनको शिलान्यास सोमबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि आम जनता पार्टीका अध्यक्ष एवम पुर्व मन्त्री प्रभु साह रहेका थिए 
नगर प्रमुख रिना कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह, विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादव, वडा अध्यक्ष सिउ, विद्यालयका शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
शिलान्यास गरिएको भवनको लागत रु ३ करोड ४७ लाख ५६ हजार ६ सय ८ रहेको छ। निर्माण कार्य सम्पन्न भएपछि विद्यालयमा शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।
नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकता दिँदै हालसम्मको बजेटको ४२% हिस्सा शिक्षा क्षेत्रमा छुट्याएको छ। यो कदमले विद्यालय तथा समग्र नगरभित्रको शैक्षिक अवस्था उकास्ने विश्वास लिइएको छ।
विद्यालय व्यवस्थापन समितिका अनुसार, नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित, सुविधासम्पन्न र शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नेछ। नगर प्रमुख रिना कुमारी साहले मौलापुर नगरपालिकाको शिक्षा क्षेत्रमा देखिएको लगाव र प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनहरूमा समेत शिक्षालाई केन्द्रमा राखी विकासका कदम अघि बढाइने बताइन्।
समारोहमा सहभागी सबैले मौलापुर नगरपालिकाको यो योगदानको उच्च सराहना गर्दै सफलताको शुभकामना व्यक्त गरे।
