क्रोम ओएसलाई टक्कर दिन आएको विन्डोज ११ एसई अन्तत: बन्द, के हो कारण ?
पछिल्लो अध्यावधिक: साउन १८, २०८२ काठमाडौँ ।
माइक्रोसफ्टले कम क्षमताका कम्प्युटर डिभाइसहरूका लागि विशेष रूपमा तयार पारेको विन्डोज ११ एसई (स्कुल संस्करण) बन्द गर्ने घोषणा गरेको छ । बजारमा आएको केही वर्षमै यो अपरेटिङ सिस्टम बन्द हुने भएको हो ।
यो घोषणासँगै २०२१ मा क्रोम ओएससँग प्रतिस्पर्धा गर्न ल्याएको आफ्नो प्रयासबाट माइक्रोसफ्ट पछि हटेको छ । विन्डोज ११ एसईलाई ‘क्लाउड-फर्स्ट’ अपरेटिङ सिस्टमको रूपमा प्रस्तुत गरिएको थियो । यो संस्करण खासगरी विद्यालयहरूलाई लक्षित गरी सरल इन्टरफेस र शिक्षक-विद्यार्थीका लागि उपयुक्त टुलसहित ल्याइएको थियो ।
सुरुवातमा माइक्रोसफ्टकै ‘Surface Laptop SE’ लगायत केही शैक्षिक उद्देश्यका पीसीहरूमा मात्र यो संस्करण प्रि-इन्स्टल गरिएको थियो । माइक्रोसफ्टका अनुसार, विन्डोज ११ एसईको लागि सेक्युरिटी अपडेट र नयाँ सुविधाहरू सहितको सपोर्ट अक्टोबर २०२६ मा समाप्त हुनेछ । यसअघि नै यसको अन्तिम प्रमुख अपडेट ‘Version 24H2’ आएको छ भने अब अर्को अपडेट ‘25H2’ प्राप्त नहुने कम्पनीले स्पष्ट पारेको छ ।
माइक्रोसफ्टले कम मूल्यका डिभाइसमा राम्रोसँग चल्ने हल्का अपरेटिङ सिस्टम ल्याउने प्रयास गर्दै आएको छ । यसअन्तर्गत विगतमा ‘विन्डोज १० एक्स’ पनि ल्याउने योजना बनाइएकोमा सार्वजनिक हुनुअघि नै रद्द गरियो । सो संस्करण क्रोम ओएससँग सबैभन्दा नजिक पुग्ने सम्भावना बोकेको मानिन्थ्यो ।
माइक्रोसफ्टको एक डकुमेन्टमा भनिएको छ, “माइक्रोसफ्टले विन्डोज ११ एसई, संस्करण २४एच२ पछि कुनै फिचर अपडेट जारी गर्ने छैन । विन्डोज ११ एसईका लागि सफ्टवेयर अपडेट, प्राविधिक सहायता र सुरक्षा समाधानहरू सहितको सपोर्ट अक्टोबर २०२६ मा समाप्त हुनेछ । तपाईंको डिभाइसले काम गरिरहने भए तापनि निरन्तर सपोर्ट र सुरक्षा सुनिश्चित गर्न विन्डोज ११ को अर्को संस्करणलाई सपोर्ट गर्ने डिभाइसमा सर्न हामी सिफारिस गर्छौं ।”

विन्डोज ११ एसईमा प्रयोगकर्ताले स्वतन्त्र रूपमा एप डाउनलोड गर्न सक्दैनन् । एड्मिनले अनुमति दिएका एप मात्र चलाउन सकिन्छ । साथै बालबालिकाको प्रयोग अनुभवलाई सरल बनाउन मल्टिटास्किङ क्षमता घटाउने जस्ता कृत्रिम सीमितताहरू समावेश थिए । यसमा प्रयोगकर्तालाई आफ्नो डेस्कटप ब्याकग्राउन्डमा स्टिकरहरू थप्न अनुमति दिने सुविधा पनि थियो ।
हाल ‘विन्डोज ११ एजुकेसन’ भने अझै विद्यार्थी र शैक्षिक संस्थाका लागि उपलब्ध छ । तर यो संस्करणमा कृत्रिम प्रतिबन्धहरू छैनन् र तुलनात्मक रूपमा महँगो पनि छ ।
