फतुवा बिजयपुर नगरपालिकामा वडा अध्यक्ष यादवद्वारा बोरिङ जडान, स्थानीय खुसी
राम प्रवेश बैठा
साउन १३ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकाले वितरणका लागि छुट्याएको बोरिङ सेटहरु हाल वडा अध्यक्षहरुमार्फत सम्बन्धित वडामा बाँडफाँट गरिएको छ। यसै क्रममा वडा नम्बर २ शीतलपुरका वडा अध्यक्ष अनिरुद्ध यादव (संजय) ले आफ्नो वडामा उक्त बोरिङ जडान गर्दै गरेको दृश्यले स्थानीयबासीलाई खुसी तुल्याएको छ।
वडा अध्यक्ष यादवले आफैँको पहलमा र व्यक्तिगत मेहनतमार्फत बोरिङ जडान कार्य अघि बढाएको देख्दा गाउँलेहरुले प्रशंसा व्यक्त गरेका छन्। स्थानीयले उनलाई धन्यवाद दिँदै बोरिङले भविष्यमा खानेपानी तथा सिँचाइमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाले केही समयअघि बिक्री वितरणको उद्देश्यले सुरक्षित रूपमा थन्क्याएर राखिएको मोटर तथा बोरिङ सेटहरु सम्बन्धित वडामा आवश्यकताअनुसार वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वडा अध्यक्ष यादवले आफ्नो वडाको आवश्यकतालाई मध्यनजर गर्दै बोरिङ ल्याएर जडान गरिरहेका छन्।
स्थानीयवासी हरुले भने, “हामीलाई अब पानीको लागि टाढा जानु नपर्ला भन्ने लागेको छ। वडा अध्यक्ष ज्यूले जुन मेहनत देखाउनु भयो, त्यसले हामीलाई गर्व महसुस भएको छ।”
वडा अध्यक्ष यादवले पनि भने, “जनताको सेवा गर्नु मेरो कर्तव्य हो। गाउँको आवश्यकता बुझेर तुरुन्तै काम थालिएको हो।”
यस जस्तै अन्य वडामा पनि बोरिङ जडान कार्य अघि बढ्ने आशा गरिएको छ। स्थानीय सरकारको सक्रियता र जनप्रतिनिधिको जिम्मेवार व्यवहारले ग्रामीण क्षेत्रको विकासमा सकारात्मक सन्देश दिएको छ।
