शिक्षक दरबन्दीको माग सहित रौतहटमा विद्यार्थीको भेला भव्यताका साथ सम्पन्न
राम प्रवेश बैठा
रौतहट, साउन ९ – शिक्षक दरबन्दीको सुनिश्चितता र शिक्षाको गुणस्तरीय सुधारको माग गर्दै आम विद्यार्थी मोर्चाद्वारा आयोजित रौतहट जिल्ला स्तरीय भेला गरूडामा भव्यताका साथ सम्पन्न भएको छ।
जिल्लामा करिब २ लाख विद्यार्थी रहेका छन् भने ४ हजार शिक्षकको आवश्यकता रहे पनि हाल जम्मा १,८०० शिक्षक मात्र कार्यरत रहेको तथ्य सार्वजनिक गर्दै भेलामा सहभागी विद्यार्थी र नेताहरुले शिक्षक अभावका कारण शिक्षाको गुणस्तरमा गम्भीर असर परेको बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि आम विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष बिबेक साह तथा आम जनता पार्टीका नेताहरुको रोहबरमा सम्पन्न भेलामा शिक्षक दरबन्दीको सुनिश्चितता तथा विद्यार्थी अनुपात अनुसार शिक्षकको व्यवस्थापन गराउन सशक्त आन्दोलन गर्ने निर्णय गरिएको छ।
भेलामा अध्यक्षता गरेका प्रिन्स साहको नेतृत्वमा ७५ सदस्यीय जिल्ला समिति गठन गरिएको छ। नवनिर्वाचित जिल्ला समितिलाई आगामी दिनमा शिक्षक दरबन्दी लगायत शिक्षासम्बन्धी समस्यामा संघर्ष गर्न जिम्मेवारी दिइएको छ।
केन्द्रीय अध्यक्ष बिबेक साहले नवनिर्वाचित समिति र सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै भने,
“यो आन्दोलन शिक्षकको मात्र नभइ सम्पूर्ण विद्यार्थीको भविष्यसँग जोडिएको हो। गुणस्तरीय शिक्षाको लागि शिक्षक व्यवस्थापन अपरिहार्य छ, त्यसैले अब आन्दोलन सशक्त र शान्तिपूर्ण रूपमा अघि बढाइनेछ।“
कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, र अन्य सरोकारवालाहरुले पनि जिल्लामा रहेको गम्भीर शिक्षक अभाव प्रति ध्यानाकर्षण गराउँदै सरकारको तत्काल ध्यान जानु पर्ने माग गरेका छन्।
