मौलापुरमा तीज विशेष कार्यक्रम सम्पन्न
राम प्रवेश बैठा
भाद्र ८ गते
रौतहटको मौलापुर नगरपालिकामा आज महिलाहरूको महान चाड तीजको अवसरमा दर खाने विशेष कार्यक्रम आयोजना गरिएको छ। नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख आदरणीय श्रीमती रिना कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साह, वडाध्यक्ष महेश महतो कोइरी, वडा अध्यक्ष राम पुकार साह लगायत अन्य जनप्रतिनिधि तथा सम्पूर्ण महिला कर्मचारीहरूको उपस्थिति रहेको थियो।
महिलाहरूको आत्मबल, संस्कार र संस्कृति झल्काउने तीज पर्व विशेष गरी दर खाने दिनलाई अत्यन्तै उल्लासपूर्वक मनाइएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले पारम्परिक पहिरनमा सजिएर गीत–संगीत, नृत्य र सांस्कृतिक गतिविधिहरूमा सहभागिता जनाए।
नगर प्रमुख साहले महिलाको सम्मान, सशक्तीकरण र संस्कृतिको जगेर्नाका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा पनि मौलापुर नगरपालिकाले यस्ता सांस्कृतिक र सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत साहले तीजको सांस्कृतिक महत्व र सामाजिक सद्भावमा यसको भूमिकाबारे प्रकाश पार्नुभयो। महिला कर्मचारीहरूले यस पर्वलाई आपसी मेलमिलाप र सहकार्यको माध्यमका रूपमा लिँदै कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरे।
कार्यक्रमको समापनमा उपस्थित सबैलाई शुभकामना दिँदै मिठा परिकार सहितको दर खुवाइएको थियो।
