गरुडा नगरप्रमुख जयसवालद्वारा छठ घाट तथा मठ–मन्दिर क्षेत्रको स्थलगत अनुगमन
रौतहट, असार १७ गते
राम प्रबेश बैठा
रौतहटको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालको विशेष पहलमा वडा नम्बर–६ मा अवस्थित छठ घाट तथा मठ–मन्दिर क्षेत्रको साँझपख स्थलगत अनुगमन गरिएको छ।
धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र समुचित व्यवस्थापनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण हुने विश्वाससहित नगरप्रमुख जयसवालले स्थानीय जनप्रतिनिधि, समाजसेवी, बृद्ध–बुजुर्ग तथा स्थानवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै जनभावना बुझ्ने प्रयास गर्नुभएको हो।
स्थलगत अनुगमनका क्रममा उपस्थित समुदायका सदस्यहरूले छठ घाट तथा मठ–मन्दिर क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै आवश्यक पूर्वाधार निर्माण, सरसफाइ, विद्युत् व्यवस्था र अन्य व्यवस्थापन सुधारका लागि आग्रह गरेका थिए। नगरप्रमुख जयसवालले जनताको आस्था र परम्परालाई सम्मान गर्दै नगरपालिकाबाट आवश्यक सहयोग तथा पूर्वाधार विकासमा निरन्तर ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“धार्मिक स्थलहरू केवल आस्थाको केन्द्र मात्र होइन, समुदायको एकताको सूत्र पनि हुन्। त्यसैले यसको संरक्षण र व्यवस्थापनमा हामी गम्भीर छौं,” नगरप्रमुख जयसवालले भन्नुभयो।
नगरपालिकाको यो सक्रियताले स्थानियवासीहरूमा सकारात्मक सन्देश दिएको छ भने धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानहरूको दीर्घकालीन संरक्षणतर्फ महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
