मौलापुर नगरपालिकामा खानेपानी समस्याको समाधानका लागि डिप-बोरिङ जडान सुरु, मेयर रिना साहको पहलमा सर्वसाधारणमा खुसीको लहर

0

श्रावण २ गते राम प्रवेश बैठा

रौतहटको मौलापुर नगरपालिका अन्तर्गत पथारा, पतौरा र मौलापुर क्षेत्रका बासिन्दाहरू लामो समयदेखि भोग्दै आएको खानेपानीको समस्यालाई सम्बोधन गर्न मेयर रिनाकुमारी साहको पहलमा डिप-बोरिङ जडानको काम सुरु गरिएको छ।

डिप-बोरिङको स्थान छनोटका लागि हालै एक विशेष छलफल कार्यक्रम आयोजना गरिएको थियो, जसमा प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह, आम विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष बिबेक साह, इन्जिनियर दिपेश साह, आम जनता पार्टीका नेता राजेश रौनियर लगायत विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय अगुवा तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

खानेपानीको मुख्य जिम्मेवारी संघीय तथा प्रदेश सरकारको भए तापनि, नगरवासीको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने समस्यालाई गम्भीरतापूर्वक लिई स्थानीय सरकारले स्वस्फूर्त रूपमा पहल लिएको हो। यस कार्यप्रति स्थानीयबासीहरूले मेयर साहप्रति विशेष धन्यवाद र प्रशंसा प्रकट गरेका छन्।

स्थानीय बासिन्दा श्यामलाल साह भन्छन्, “वर्षौंदेखिको हाम्रो प्यास अब मेटिने भयो। मेयरज्यूले हाम्रो समस्यालाई आफ्नो समस्या ठानी जुन सक्रियता देखाउनु भएको छ, त्यो साँच्चै सराहनीय छ।”

उक्त डिप-बोरिङ जडान भएपछि ती क्षेत्रमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच बढ्ने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा अन्य प्रभावित क्षेत्रहरूमा पनि यस्तै प्रविधिको प्रयोग गरी खानेपानी उपलब्ध गराउने नगरपालिकाको योजना रहेको बताइएको छ।

नगरप्रमुख रिना साहले भनिन्, “जनताको आवश्यकता नै मेरो पहिलो प्राथमिकता हो। जबसम्म केन्द्र वा प्रदेशबाट सहयोग आउँदैन, तबसम्म नगरपालिका आफ्नै स्रोतबाट समाधान खोजिरहनेछ।”

खानेपानीको पहुँच प्रत्येक नागरिकको आधारभूत अधिकार हो भन्ने सोचका साथ अगाडि बढेको मौलापुर नगरपालिकाको यो कदम अन्य पालिकाहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *